मनहरी भाद्र ६, पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुर स्थित बलबहादुर राईको भैंसीगोठमा बाघ मृत अवस्थामा भेटिएको छ ।
बिहीबार बिहान करिब २:४५ बजेको समयमा भैंसी गोठमा बाँधिएको भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ।
‘बाघ बुढो, असाध्यै दुब्लो र कमजोर रहेछ। आक्रमण गर्न खोज्दा भैंसीले नै हानेर मारिदियो जस्तो देखिन्छ । चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले भने हामीले घटनास्थलको मुचुल्का गरेर बाघलाई पोष्टमर्टमका लागि कसरा ल्याउँदैछौं। पोष्टमार्टमको रिपोर्टले वास्तविक कुरा आउने बताएका।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुनसक्ने बताए। कमजोर भएर अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती छिरेको थियो होला। भैंसी उभन्दा तगडा परेर आफैं मर्नपुग्यो,’ तिवारीले भने।
घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ। भैसीलाई पनि चोट लागेको छ। यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए।